Home>>अन्तरवार्ता>>‘लेनदेनले निकास दिँदैन, केन्द्रीय कमिटीको बैठक चाहियो’ ठाकुर गैरेको आग्रह– दुई अध्यक्षको समझदारी केन्द्रीय कमिटीमा ल्याउनोस्
अन्तरवार्ता

‘लेनदेनले निकास दिँदैन, केन्द्रीय कमिटीको बैठक चाहियो’ ठाकुर गैरेको आग्रह– दुई अध्यक्षको समझदारी केन्द्रीय कमिटीमा ल्याउनोस्

नेकपाका युवा नेता ठाकुर गैरे तत्कालीन एमाले हुँदै हालको नेकपाको राजनीतिमा केपी ओलीका स्थायी प्रतिपक्ष हुन् । तर, अहिले ओलीलाई दुवै पदबाट हटाउन खोजिएका बेला गैरे भने यस्तो निर्णय केही नेता मात्रै रहेको कमिटीबाट होइन, केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने पक्षमा उभिएका छन् ।

पछिल्लो समय पार्टी विभाजनकै तहमा पुग्न लागेपछि एकताको पक्षमा रहेका केन्द्रीय सदस्यहरुसहित कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिइरहेका छन् । ठाकुर गैरेकै पहलमा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर अभियान पनि चलिरहेको छ 

आखिर स्थायी कमिटी बैठक चलिरहेका बेला केन्द्रीय कमिटी बैठक किन चाहियो ? यसै सन्दर्भमा केन्द्रित रहेर नेकपा केन्द्रीय सदस्य गैरेसँग अनलाइनखबरले गरेको कुराकानी यहाँ प्रस्तुत छ–

स्थायी कमिटी बैठक बसिरहेका बेला केन्द्रीय कमिटी बैठक माग्दै हस्ताक्षर अभियान चलाउनुको अर्थ के हो ? स्थायी कमिटीले गर्ने निर्णय मान्य हुँदैन भन्ने हो ?

खास गरी यो बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको दुवै पदबाट राजीनामाको माग भयो भन्ने समाचार जब बाहिर आयो, त्यसपछि देशभरि जबर्जस्त सन्देश गयो कि अब नेकपा सग्लो रहँदैन । हामीलाई देशभरिबाट यति धेरै टेलिफोन आए, पार्टी फुट्ने भयो भन्ने आतंक सिर्जना भयो । सबैतिरबाट यो पार्टीको एकता बच्नुपर्छ भन्ने दबाब आयो । हामीले सोच्यौं कि अब यो संकटको बेलामा केन्द्रीय कमिटी बैठक चाहिन्छ ।

भनेपछि, ओलीलाई दुवै पदबाट हटाउँदा पार्टी फुट्छ भनेर केन्द्रीय कमिटीमा जाउँ भनेको हो ?

त्यो त २० जना स्थायी कमिटी सदस्यहरुले हस्ताक्षर गरेर बुझाएदेखि नै एकखालको हल्ला त चलेकै थियो । हटाउन खोजियो भन्ने हल्ला त छँदै थियो । त्यसपछि अध्यादेश प्रकरणले अर्को हल्ला सिर्जना भएको थियो । त्यसमाथि फेरि प्रधानमन्त्रीले मदन भण्डारीको जन्मजयन्तिको भाषणमा जे कुरा बोल्नुभयो, त्यसले अर्को हल्ला जन्मियो ।

स्थायी कमिटी बैठकमा दुवै पदबाट छाड्नुपर्ने भन्ने एजेण्डा प्रस्तुत भयो भनेपछि अब पार्टी एउटै रहँदैन भन्ने सन्देश गयो । त्यसपछि हामी केही केन्द्रीय सदस्यहरुले तत्काल सल्लाह गर्‍यो नेकपाको एकता टुट्नुपर्ने कारण के छ त ? सिद्धान्त, विचार, कार्यक्रम, लक्ष्य उद्देश्य कुनै पनि कोणबाट हेर्दा नेकपा फुट्नुपर्ने कारण देखिएन । यो पदीय हिसाबको बहस भयो । को कुन पदमा बस्ने, कसले के पाउने ? कसले के नपाउने भन्ने कुरामा आधारित भएर पार्टीको विभाजनको तहमा पुग्नु भनेको निकै गम्भीर कुरा हो ।

यति गम्भीर विषय ९ जना वा ४४ जनाको कमिटीले होइन, महाधिवेशनपछिको सर्वोच्च निकाय ४४१ जनाको केन्द्रीय कमिटीमा छलफल हुनुपर्छ भन्ने हाम्रो मान्यता हो र हामीले बैठक माग गरेका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *