Home>>साहित्य>>मलामी [कविता]

‘ऊ बिरामी छ रे !’
‘अस्पताल जान असमर्थ भयो रे !’
‘उस्को परिवार आर्थिक संकटमा छ रे !’
भन्ने खबरहरुभन्दा धेरै छिटो फैलियो
ऊ मरेको खबर !
संसारभर फैलियो ऊ यो संसारमा नरहेको खबर ।

केही छिनमै आइपुग्यो दुई मिटर सेतो कपडा
आइपुगे दुईवटा मजबुत बाँस
ल्याईए ठूलो श्वर भएको शंख !
शंखको आवाजसंगै
जम्मा भए मलामी !
र,
कात्रोमा बेरिएर
हरियो बाँसमा बाँधियो एउटा जीन्दगी ।

चितामा-
जतिसक्दो छिटो जलाउने सल्लाह गर्दै थिए
एक थुप्रो दाउरा
आगो बन्न तयार थियो दागबत्ति
आगो झोस्न हतार लगाउँदै थिए मलामीहरु
मानौँ, ढिलो भए लाश बौरन्छ !
तर,
लाशले केहि सुनिरहेको थिएन ।

दागबत्ति दिएसंगै फर्किहाले
थुप्रै मलामी
घाट खाली~खाली हुँदै थियो
तरपनि म फर्किइन
बरु ध्यान दिएर होरिरहेँ
अन्त्यष्टि आफ्नै जीन्दगीको ।

कति हेरचाह गरेर जोगाएथ्यो उस्ले
आफ्नो कपाल !
आगोको ज्वालासंगै सबभन्दा पहिला जल्यो !
पुषमाघको जाडोले समेत नफुटाएको
उस्का ओठ, गाला
कति सजिलै फुटे आगोका लप्कासंगै !
कति सम्मान पायो ?
कति दोसल्ला ओढ्यो ?
कतिओटा मेडल लगायो उसको घाँटीले ?
सारा मान-प्रतिष्ठा भुलेर जलिरह्यो !
अघाएको बहाना गरेर
कतिचोटी भोकभोकै बस्यो होला उस्को पेट !
आज भोकै जल्दैछ कि अघाएको होला ?
बाँचुञ्जेल थकाई मार्न नपाएका
र संघर्षले खिईए पनि
जीन्दगीको अनबरत यात्रा छिचोलेका खुट्टाहरुले
आज आराम पाए होला त ?

त्यसदिन
मलाई कुनै हतार थिएन
पुग्नुपर्ने कहिँ थिएन
म जीन्दगीको अन्तिम गन्तब्यमै आइपुगेको थिएँ ।

बरु बुझ्नु थियो-
आफूले माया गरेको शरीर
कसरी खरानी हुन्छ भनेर
सोच्नु थियो- आफूलाई माया गर्ने मान्छे
कति धेरै तड्पिन्छन् भनेर
सुन्नु थियो- आफूलाई घृणा गर्ने मान्छेका कुरा
तौलिनु थियो- मान्छेको मन !
जाँच्नु थियो- बाँचुञ्जेल बनाएको सम्बन्धको मजबुती
चिन्नु थियो- मेरो लाश जलुञ्जेलसम्म पनि
पर्खिन नसक्ने ब्यस्त मान्छेहरु
बुझ्नु थियो आफन्तको महत्व
र,
अनुभव गर्नुथियो-
आफ्नै जिन्दगीको अन्त्येष्टि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *