Home>>साहित्य>>पाँच किलो मासु

तीन वर्ष बित्यो उनीहरूले अरूणवेदालाई देखेका छैनन् । अलि मिया, जैनकुमार र हिरकलाल सधैं उसलाई सम्झेर बस्छन् । हिरकलाल त उसको कुरा गरेर रूनै खोज्छ । आफ्नै कारणले ऊ हराएको ठान्छ । अरूणको बन्द भएको मासु पसल अगाडि आएर उनीहरू धेरैबेर उसको कुरा गर्छन् । र, भोलि फेरि एकपटक खोज्न जाने निधो गर्छन् ।

तर, अरूणवेदालाई देख्ने कोही भेटिदैन थिए ।

आखिर कहाँ गयो होला अरूण ?

लुण्डिहवा चोकमा एउटा टंकी खाली भएपछि अरूणवेदाले नयाँ मासु पसल खोल्यो । त्यहाँ भएकोे सबै मासु पसल मुसलमानहरूका थिए । उसले पसल खोलेपछि मार हानिएकै मासु खानुपर्ने हिन्दुहरूलाई चाहिँ अब सजिलो भएको थियो । हुन त धेरैजसो हिन्दुहरू मुसलमानको पसलबाट पनि मासु किन्थे । बरू मुसलमानहरू मार हानेको मासु कहिल्यै किन्दैनथे ।

‘पाँच किलो मासु जोख बाबु, मेरा बालबच्चा साह्रै भोकाएका छन्,’ एकदिन हस्याङ्फस्याङ् गर्दै एउटी वृद्धा आइपुगिन् ।

पाँच किलो खसीको मासु !

अरूणले ती वृद्धालाई ध्यान दिएर हेर्यो । के वृद्धा साँच्चै त भन्दै छे ?

यसरी एकैपटकमा पाँच किलो खसीको मासु त्यो गाउँमा कि कुनै विवाहमा खरिद गरिन्थ्यो कि वनभोज जाँदा । त्यो पनि पहिले नै अर्डर गरेर मात्रै मान्छे लिन आउँथे । अनि पैसा एक महिनापछि बुझाउँथे । तर ती वृद्धाले सबै पैसा एकैपटक बुझाएर पाँच किलो मासु लिएर गइन् ।

कुरा त्यतिमै सकिएन । त्यसपछि ती वृद्धा दिनदिनै पाँच किलो खसीको मासु लिन आउन थालिन् ।

झण्डै एक वर्ष वृद्धाले उसको पसलबाट पाँच किलो मासु उठाइरहिन् । यो बीचमा उसको दिमागले वृद्धा आमालाई लिएर अनेक तर्कहरू उत्पन्न गरे ।

‘यो महंगीमा दिनदिनै पाँच किलो खसीको मासु लिन आउँछिन् । कति पैसा होला यिनीसँग ? दिनको पाँच किलो खसीको मासु पचाउँछन् राक्षसहरू…।’ सोच्दासोच्दै उसले मासु काटेको पत्तो पाउँथेन ।

वृद्धाले नगद गनेर दिन्थिन् र पाँच किलो मासु झोलामा हालेर बाटो लाग्थिन् । ऊ बुढी पर पुगुन्जेल हेरिरहन्थ्यो ।

‘वृद्धाका पैताला र खसीको मासु, उफ् ! छोराछोरी पनि कस्ता होलान् । सधैं वृद्धालाई मासु लिन पठाउँछन् । त्यस्ती बुढीलाई पाँच किलो मासु बोकाएर खान पनि कति सकेको हो ? म तिनको छोरो हुन्थे भने कहिल्यै बुढी आमालाई यसरी दुःख दिने थिइनँ ।’ ऊ मनमनै सोचिरहन्थ्यो ।

‘ल बाबु, छिटो पाँच किलो मासु जोख । केटाकेटी भोकाइसके,’ गम्छाले पसिना पुछ्दै अर्को दिन पनि ती वृद्धा हतारिदै आइपुगिन् ।

ऊ एकछिन दंग परेर हेरिरह्यो ।

‘आमै जहिले हतार गर्नु हुन्छ । बरू केटाकेटीलाई नै पठाउनु भए हुन्थ्यो नि । बुढी मान्छे कति दुःख गर्नु हुन्छ,’ अरूणवेदाले निकै दिनदेखि मनमा लागेको अप्ठेरो पोख्यो ।

‘त्यो त हो बाबु, तर मेरा केटाकेटी मासु लिन होइन, खान मात्रै जानेका छन्,’ वृद्धाले हाँस्दै भनिन् ।

‘लौ के नै गर्नुपर्ने हो र । पैसा दिएर पठाइदिनुस्, म मासु दिएर पठाउँछु । अरू के गर्नु पर्‍यो र ?’

‘त्यो त हो बाबु, तर मेरा केटाकेटी मान्छेका होइनन् । मान्छेहरु तिनीहरूलाई कुकुर भन्छन् । मेरालागि भने ती छोराछोरी नै हुन् ।’

यो सुनेर अरूण जिल्ल पर्‍यो ।

‘कुकुरलाई खसीको मासु !’, एकाएक उसको मुखबाट निस्कियो ।

‘हो त, के तिनहरूको जीवन होइन र ?’ वृद्धाले सामान्य रुपमा भनिन् ।

ए दैव, हरेक दिन पाँच किलो खसीको मासु ती कुकुरका जातलाई पो रै’छ ! त्यो सुनेपछि उसलाई मासु काटिरहेको दाउ लिएर गएर ती कुकुरहरूलाई नै मारिदिउँ जस्तो लाग्यो ।

यहाँ मान्छेलाई एक पेट खान गाह्रो छ, त्यहाँ कुकुरलाई खसीको मासु !

‘हजुर त अचम्मैको मान्छे हुनुहुँदो रहेछ ! कुकुरलाई पनि दिनै खसीको मासु खुवाउने !’

‘ती कुकुर होइनन् बाबु, मेरा सहारा हुन् । तिनीहरू छन् र म बाँचिरहेकी छु ।’

‘घरमा अरू कोही छैनन् र ?’

‘कोही छैनन् बाबु ! एउटी म छु र मलाई व्यस्त राख्ने ती छोराछोरी छन्… ।’

यति भनेर बुढी बाटो लागिन् ।

अरूण तीनछक पर्‍यो ।

साला कुकुरलाई खसीको मासु ! त्यो पनि पाँ–पाँच किलो ? दिनभरि मासु काट्यो, जाने बेलामा केही टुक्रा हाड र खुट्टा पनि मुस्किलले आफ्नो हात लाग्छ । मेरो जिन्दगीभन्दा त त्यो कुकुर कै जिन्दगीको यश रहेछ बुझिस् ।

अरूण उफ्रिँदै मियाअलिको चिया पसल पुग्यो । उसको कुरा सुनेर अलिमिया पनि तिनछक पर्यो ।

भोलिपल्ट फेरि बुढी मासु लिन आइन्, उही हतारो र उस्तै अवस्थामा ।

‘पाँच किलो मासु कतिवटा कुकुरले खान्छन् आमै ?’ अरूणलाई जान्न मन लाग्यो ।

‘नौ जना छन् । तर बाबु, कुकुर नभन है, चित्त दुख्छ ।’

‘कुकुरलाई मान्छे कसरी भन्ने त आमै ?’

‘जे होस्, मेरो अगाडि नभन ।’

वृद्धा बाटो लागिन् । अरूण झन् आश्चर्य पर्यो ।

उसलाई लाग्यो– यी वृद्धा पागल हुन् । होइन भने, खसीको मासु खुवाएर नौ–नौ वटा कुकुर कसले पाल्छ ?

उसलाई यो कुरा खपिसक्नु भएन । ऊ पसल बन्द गरेर अलि मियाको पसलमा हुर्रिँदै आइपुग्यो ।

‘पाँच किलो खसीको मासु ! नौ वटा कुकुर !’ ऊ बर्बराउन थाल्यो । अलि मियाले जिल्ल परेर चिया कित्ली अँगेनोमा बसाल्यो ।

‘के भन्दै छस् बे ?’ नजिकै चिया खाइरहेको हिरकलालले सोध्यो ।

‘नौ वटा कुकुरलाई दिनदिनै दैनिक पाँच किलो खसीको मासु…’, अरूणले त्यही कुरा दोहोर्‍यायो ।

‘के भनिस् बे ?’ नजिकै बसिरहेको जैनकुमारले सोध्यो ।

‘साला, एउटी बुढियाले हर रोज पाँच किलो मासु लिएर जान्छे ।’

‘तब ?’ हिरकलाल र जैनकुमार एकैस्वरमा बोले ।

‘त्यो मासु कसले खान्छ भन् न ?’, अरूणले सोध्यो ।

जैनकुमार– ‘कसले ?’

अरूण– ‘नौ वटा कुकुरले । साला, मान्छे हुनुभन्दा त्यो बुढियाको कुकुर हुन बेस छ… ।’

जैनकुमार– ‘उसो भए बहुत माल होला घरमा । रखवारीको लागि राखेको होला कुकुर ।’

अरूण– ‘होला, तर के गर्नु, हामीले एक कौडी पाउने होइन ।’

हिरकलाल– ‘एउटा तरकिब छ मेरो पास…’

अरूण र जैनकुमार– ‘कस्तो तरकिब ?’

हिरकलाल– ‘बुढीयाको घरको माल साफ गर्ने । साला कुकुरले खानुभन्दा त हामीले खाएको बेश नि, कि कसो अलि ?’

अलि मिया मुस्कुरायो ।

‘कुरा त ठीकै हो, तर कसरी साफ गर्ने ? नौ–नौ वटा कुकुरले त्यहाँ छिर्न पनि दिदैनन् होला,’ अरूण बोल्यो ।

‘यसो गर, भोलि बुढीलाई जहर मिलाएर मासु दे । त्यो मासु खाएपछि कुकुरहरू मर्छन् । अनि हामीलाई सजिलो हुन्छ,’ हिरकलालले भन्यो ।

‘कहाँबाट ल्याउने जहर ?’

‘साँझ दाचुलालकोबाट लिएर जानू । म त्यहाँ छोडिदिउँला’, हिरकलालले भन्यो ।

यसरी छिनमै बुढीको घरमा चोरी गर्ने योजना बन्यो । अरूण आफ्नो पसलमा फर्कियो । निकैदिनदेखिको उसको छटपटी केही शान्त भएको थियो । वृद्धाले कुकुरलाई पाँच किलो खसीको मासु ख्वाउछिन् भन्ने थाहा पाएदेखि नै ऊ रनाहामा परेको थियो ।

भोलिपल्ट बिहान ती वृद्धा उसैगरी मासु लिन आइन् ।

‘अनि आमै, हजुरका छोराछोरीको हालचाल त ठीक छ ?’ अरूणवेदाले एकाएक मिठो भाषा बोल्यो ।

‘ठीक छ बाबु ! टाइममा खान दिएन भने चैं साह्रै आत्तिन्छन् । बिहानभर दिसापिसाब गराउँछु अनि मासु लिन आउँछु । बाह्र बजेभित्र तिनीहरूलाई खुवाइसक्नु पर्छ, नत्र कराउन थाल्छन् । मासु नभई भाग बस्दैनन् ।’

‘यो संसारमा यसरी कुकुर पाल्ने मान्छे चैं हजुर मात्रै होला । पाँच किलो मासु एकै दिनमा सक्छन् है ?’ अरूणले बुढीलाई फुर्क्याउँदै कुरा फुत्काउन प्रयास गर्‍यो ।

‘विदेशतिर धेरै छन् । नेपालमा चैं कमै होलान् । अँ बिहान–बेलुका गरेर सकिहाल्छन् जाबो पाँच किलो मासु ।’

यती भनेर ती वृद्धा बाटो लागिन् ।

‘ख्वा बुढिया ख्वा ! आजको दिन ख्वा ! अब तेरा सबै कुकुर परलोक पुग्नेछन्,’ अरूणले बुढीको झोला हेर्दै सोच्यो ।

अलि पर बसेर हेरिरहेका हिरकलाल, जैनकुमार र अलि वृद्धा हिँडेपछि मासु पसलमा आए ।

हिरकलाल– ‘के भन्छे बुढिया ?’

अरूण– ‘बाह्र बजेभित्र खाना खाइसक्छन् रे !’

जैनकुमार– ‘त्यसो भए दुई बजेतिर त्यहाँ छिर्नुपर्छ । बुढी पनि खाना खाएर आराम गर्छे होला । दुई घण्टामा त सबै कुकुर मरिसक्छन् ।’

हिरकलाल– ‘अँ सुन्, पहिलो कुरा त्यहाँ जे पाइन्छ, सबै बराबर बाँड्ने हो । दोस्रो, यो कुरा कसैलाई थाह दिने छैनौं ।’

अलि मियाले जैनकुमारलाई बिषेश रुपमा सतर्क गरायो– ‘साले स्वास्नीलाई भन्लास् नि फेरि ।’

दुई बज्यो । अरूणले मासु पसल बन्द गर्‍यो र सबै वृद्धाको घरतिर लागे । चुनावी माहोल थियो, सडकमा विभिन्न पार्टीका घोषणापत्रहरू सार्वजनिक हुँदै थिए ।

‘अब देशमा सुख र समृद्धि बग्ने छ । गरीबहरू धमाधम धनी हुनेछन् । चोर, डाँका र अपराधीहरू हराउने छन्… ।’ माइकमा कुनै नेता भाषण गरिरहेको थिए ।

त्यो सुनेर हिरकलालले खित्का छाड्यो । त्यसपछि एकअर्कोलाई हेर्दै सबै हाँसे ।

त्यतिञ्लेसम्ममा उनीहरूको घोषणापत्रले वृद्धाको कुकुरहरुलाई परलोक पठाइसकेको थियो ।

दिउँसो सवा दुई बजिसकेको थियो । उनीहरू वृद्धाको घर नजिक पुगे । अनि पूर्वयोजनामा तय भएको ठाउँबाट पर्खाल नाघेर कम्पाउण्डभित्र पसे ।

‘नेपाली कांग्रेस– जिन्दावाद !’

‘भोट केमा– रूखमा ।’

‘रूख कसको– जनताको ।’

‘जनता कसको– कांग्रेसको ।’

त्यही बेला एउटा जुलुस नजिक आइपुग्यो ।

‘एकछिन पख् । पहिला यी चोरहरूलाई जान दे’, हिरकलालले भन्यो । त्यो सुनेर अरूण हाँस्यो ।

‘के हाँस्छस् बे, यी सालेहरूले कहिलेदेखि देश लुटिराखेछन्, तँलाई था’छैन ?’

सबै पर्खालको आड लिएर उभिए ।

‘भोट केमा ? सूर्यमा !’

‘सूर्य कसको ? जनताको !’

‘जनता कसको ? एमालेको !’

त्यही बेला अर्को चुनावी जुलुस आयो ।

‘थुइक्क डाँकाहरू !’ अरूणले मुख बिगार्दै बेस्सरी थुक्यो । अलि मियालाई हाँसो दबाउन सकस पर्यो । सबै पर्खालमा अडेस लागेर उभिएका थिए ।

‘नहाँस् बे !’ हिरकलाल भुत्भुतायो । र, जुलस गएपछि चालु हुन संकेत गर्यो । सबैले फटाफट नकाब लगाए ।

बुढीको कम्पाउण्ड आँप र लिचीको गाछीले भरिपूर्ण थियो । घरको मूल ढोका भित्रबाट बन्द थियो । घर पछाडि कुकुरहरू लम्पसार परेका थिए । त्यो निरीक्षण गरेर अरूणवेदा ढुक्क हुँदै फर्कियो ।

तीनतले घरको पहिलो तला हल जस्तो थियो । त्यहाँ तीनवटा कुकुर आफ्ना खेल सामग्रीहरूसँग मृत भेटिए ।

‘बुढियाले यो पूरै तला कुकुर खेल्ने ठाउँ बनाएकी रै’छे,’ हिरकलालले लख काट्यो ।

दोस्रो तलामा उनीहरूले दुईटा मृत कुकुर, दुईटा ठूलो कुकर, एउटा ठूलो डेक्ची र प्लेटहरू भेटे । ग्याँस चुलोसहितको भान्सा पनि त्यहीँ थियो ।

कुकरमा मिसिएको मासुभात र डेक्चीमा बाँकी रहेको दूध देखेर जैनकुमारले घुटुक्क थुक निल्यो ।

‘साला, यस्तो नौटंकी त मैले कथामा मात्र सुनेको थिएँ…’, हिरकलाल फुस्फुसायो ।

उनीहरू चाल मारेर अन्तिम तलामा उक्ले, जहाँ तीनवटा कोठा थिए । कोठामा पलंग, दराज र सोकेसहरू थिए । सोकेसहरूमा रहेका कुकुरका विभिन्न प्रकारका लुगाहरू बाहिरैबाट देखिन्थे । पलंग र दराजहरुमा औषधि, पाउडर, कुकुरका अनेक थरी पोस्टर र फोटो एल्बमहरू थिए ।

दुई कोठामा कुकुरका सामग्रीबाहेक केही भेटिएन । छान् मार्न बाँकी रहेको एउटा कोठामा वृद्धा निदाएको हुनसक्ने सहज अनुमान उनीहरूले गरे । नभन्दै, वृद्धा सानो पलंगमा सुतिरहेकी थिइन् । उनको हातमा एउटा डायरी देखिन्थ्यो । भुइँको गलैंचामा दुईटा कुकुर सुतिरहेका थिए ।

‘कुकुरसँगै सुत्दी रैछे साली बुढीया,’ हिरकलालले सोच्यो । यत्रो घरमा केही हातलागी नहुने देख्दा उसको माथा तातिरहेको थियो ।

उनीहरूका आँखा एकै पटक बुढीको कानमा टल्किरहेको सा–साना मुन्द्रीमा परे ।

‘यत्रो मेहनत गरियो, यति भए पनि लैजाने हो, एक–दुई साँझ दारु–सितन त हुन्छ,’ हिरकलालले सोच्यो ।

वृद्धाले कम्मरमा पैसा बाँधेको हुन सक्छ । कसैले मुन्द्री निकाल्ने, कोहीले कम्मर खोतल्ने, बाँकीले वृद्धालाई कक्राउने, हल्ला गरी भने सधैंको लागि मुख थुनिदिने तयारी भयो ।

तर, वृद्धाको मुखबाट रगत मिसिएको फिँज निस्किइरहेको हिरकलालले देखिहाल्यो ।

‘हरे शिव ! बुढीले पनि त्यो मासु खान्छे भनेर मैले किन सोचिनँ !’ बुढीको टाउका समात्न तयार भएको अरूणवेदाले आफ्नै टाउको समात्यो ।

‘यहाँबाट छिटो भागौं,’ जैनकुमार आत्तियो ।

‘माफ गर आमा, मेरो लालचले तिम्रो हत्या गर्‍यो । मलाई माफ गर !’ अरुण वृद्धाको खुट्टा समातेर रून थाल्यो ।

अलि मियाको ध्यान वृद्धाको हातमा भएको खुला डायरीले तान्यो, जसमा लेखिएको थियो– प्रिय चोरहरू… ।

अलि झस्कियो ।

‘हाम्रो योजना वृद्धालाई पहिल्यै थाहा थियो ?’ उसले सबैले सुन्नेगरी भन्यो ।

‘के भन्छ ?’ हिरकलाल तर्सियो ।

अलि मिया चिठी पढ्न थाल्यो– प्रिय चोरहरू, तिमीहरूलाई यस घरमा हार्दिक स्वागत छ । तर, तिमीहरू खाली हात फर्किने छौ ।

तिमीहरूले मेरा प्रिय छोराछोरीलाई मार्ने जुन दाउ रच्यौ, त्यो धेरै अनौठो होइन । यो दुनियाँ नै यस्तै छ । म जान्दथें, त्यो कसाईले यो प्रपञ्च रच्न सक्छ । मैले लिएर आउने मासुको पोकोलाई ऊ सधैं घुरेर हेथ्र्याे ।

फेरि पनि म मासु किन्न त्यही पसलमा जान्थें । किनकी, उसले मलाई आमा भन्थ्यो । मलाई आमा भनेर बोलाएपछि शत्रु नै भएपनि तिनीप्रति मेरो प्रेम रहन्छ । सन्तानप्रतिको प्रेममा मैले कहिल्यै आफ्नो बाटो परिवर्तन गर्न सकिन । यही मेरो कमजोरी बन्यो ।

प्रिय चोरहरू, यो मेरो लोग्नेले रगत पसिना बगाएर बनाएको घर हो । यहाँ मेरा छ भाइ छोरा र तीन बैनी छोरी हुर्के । कोही डाक्टर, कोही इन्जिनियर र कोही ब्यापारी बने । तर मान्छे बनेनन् । उनीहरूले यो घर छोडे । यो घरमा बस्ने बुढी आमालाई पनि छोडे । तर मैले यो घरलाई छोड्न सकिनँ । यो घरसँग जोडिएको मेरो जिन्दगीलाई छोड्न सकिनँ ।

यो घरमा एउटी कुकुर्नी थिई । मेरा छोराछोरीले मलाई छोडेर गएकै बेला उसले नौवटा बच्चा जन्माई र यो घरलाई भरिदिई । अनि, आफू परलोक भई । त्यसका छाउरा स्याहार्ने जिम्मा मेरो भागमा पर्‍यो र मैले छोराछोरी जस्तै गरेर हुर्काएँ ।

यो बुढेसकालमा मेरो बाँच्ने साहरा तिनीहरू नै थिए, तर तिमीहरूले त्यसको अन्त्य गरिदियौ । आज मासुभात खाएपछि मेरा सबै कुकुर छटपटाउन थाले । मासुमा बिष मिसाएको मलाई थाह भयो । र, मासु पसलेले मेरो घरमा चोरी गर्ने योजना बनाएको पनि थाह भयो । यो सानी छटपटाउँदै मेरो काखमा आएर मृत्युवरण गरी । मेरा सबै छोराछोरी एकएक गर्दै मरे । त्यसपछि मैले पनि त्यो मासु खाएँ ।

तिमीहरूलाई लागेको होला, बुढीसँग प्रशस्त धन छ । तर, मसँग यो घर र यी छोराछोरी बाहेक केही छैन । बुढाको पेनसन यिनीहरूलाई मासुभात खुवाउन ठिक्क हुन्थ्यो ।

प्यारा चोरहरू, तिमीहरूसँग अलिकति मानवता छ भने मेरो एउटा आग्रह पुरा गरिदिनू ।

तिमीहरूले मारिदिएका मेरा छोराछोरीलाई यही घरको बगैंचामा खाल्डो खनेर गाडिदिनू । र, मेरो शव बुनबुने खोला किनारमा लगेर जलाइ दिनु, जहाँ मैले आजभन्दा चालीस वर्ष अघि मेरो लोग्नेलाई खरानी बनाएकी थिएँ ।’

अरूणले डाँको छाड्न थाल्यो ।

सबैलाई नगर्नु गल्ती गरेको आभाष भयो ।

‘साला अब जीवनमा कहिल्यै चोरी गर्दिनँ’, हिरकलालले प्रण गर्यो ।

‘अब हामी यस्तो काम कहिल्यै गर्दैनौं । अहिले चाही आमैको अन्तिम इच्छा पूरा गरिदिऊँ’, जैनकुमारले साहस निकाल्यो ।

त्यसपछि उनीहरुले बगियानमा नौवटा खाल्डो खनेर एक–एक गर्र्दै सबै कुकुर पुरे । अरूणको आँखा बग्न रोकिएको थिएन । अब बुढीको शव बुनबुने खोलामा लगेर जलाउनुु थियो ।

अरूणले नै दाउरा र तीनकिलो बनस्पति घीउ किन्न दुई हजार रूपैयाँ निकाल्यो । उनीहरू सबै शव बोकेर बुनबुने खोला पुगे । हिरकलाल र जैनकुमारले मिलाई–मिलाई चिता बनाए ।

शवलाई चितामा राखेपछि हिरकलालले रोइरहेको अरूण वेदालाई आगो लगाउन भन्यो । अरूण घँुक्घुँक् गर्दै रोइरहेको थियो । सबैले उसलाई समातेर चितामा आगो झोसिदिए ।

‘साला, अरुको धन लिने लालचले यस्तो आपतमा पार्यो’, हिरकलाल फेरि भुन्भुनायो ।

‘कुकुर मार्ने हुँदा सब गडबड भो’, जैनकुमारले भन्यो ।

‘जे भयो भयो, अब घर जाउँ’, हिरकलालले भन्यो ।

चिता भष्म भएपछि उनीहरू घरतिर लागे । अरूण कसैसँग बोलिरहेको थिएन ।

भोलिपल्ट अलि मियाले पसल खोली नसक्दै हिरकलाल चिया खान आइपुग्यो । जैनकुमार पनि हाजिर भयो । तर अरूण देखिएन ।

सबैजना अरुणको मासु पसलमा पुगे । पसल बन्द थियो । घरमा पनि ऊ भेटिएन । हिँजोदेखि घर नआएको उसकी श्रीमतीले बताई ।

वृद्धाको घरमा पो गयो कि ? सबै वृद्धाको घरमा पुगे । अरूण त्यहाँ पनि थिएन । कुकरमा भातमासु अझै यत्तिकै थियो ।

उनीहरु वृद्धाको घरको मुलढोकाको भित्री चुक्कुल खोलेर बाहिरको ह्याण्डल लगाएर फर्किए । धेरै वर्ष भइसक्यो, अरूण भने फर्किएन । ऊ कहाँ गयो ? कसैलाई थाहा भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *