Home>>साहित्य>>कोही किन कम्युनिस्ट बनोस् ?
साहित्य

कोही किन कम्युनिस्ट बनोस् ?

राजनीतिक संगठन निश्चित विचारधारबाट प्रेरित हुन्छ । त्यो विचारधाराको लक्ष पूरा गर्न विशाल जनसहभागिता आह्वान गरिन्छ ।

समयक्रममा त्यो लक्ष्य फिक्का र अप्राप्य देखिन थाल्छ । क्रान्तिका नायकहरूको वैचारिक स्खलन र सांगठनिक भद्रगोलले आन्दोलन कमजोर बन्छ । त्यसबाट आजित व्यक्तिहरुले वैकल्पिक बाटो खोज्न थाल्छन् ।

नेपालको सन्दर्भमा माओवादीले स्वतन्त्रता, मुक्ति र साम्यवादको सपना देखाएर सशस्त्र विद्रोह सुरु गरेको आधारभूत सत्य हो । आन्दोलनले केही हदसम्म उदेश्य प्राप्त गरिसकेपछि सुरु हुन्छ यसको पतनको श्रृङ्खला !

माओवादी पार्टीसम्बद्ध नेताहरूको जीवनशैली र चरित्र हेर्दा आज उनीहरूमा कम्युनिस्ट विचारधाराको धङधङीसमेत समाप्त भइसकेको प्रतीत हुन्छ । माओवादी विचारधाराप्रति आस्थावान व्यक्तिहरू निरूपाय भएर अर्को बाटो रोज्न बाध्य देखिन्छन् ।

यस्तो किन हुन्छ ? इतिहासको एक कालखण्डमा साम्यवादी विचारधाराप्रति सम्मोहित एउटा ठूलो तप्का कालान्तरमा विकर्षित हुनुको कारण के हो ? समानताको राज्य र नयाँ विश्वको प्रतीकको रूपमा रहेको सोभियत संघ वैचारिक र संगठनिक रूपमा किन यति छिटै तहसनहस हुन पुग्यो ?

तत्कालीन सोभियत संघ हामीले देखेको/देखाइएको, बुझेको/बुझाइएको भन्दा कति फरक थियो ? त्यहाँ साँच्चिकै सर्वहाराको अधिनायकत्व स्थापना भएको थियो त ? पार्टीमा स्टालिनवादी व्यक्तिकेन्द्रित धार किन उदायो ?

सोभियत संघमा पर्दाभित्र कति कुकृत्य हुन्थे/गरिन्थे र तिनीहरूलाई कस्तो खोल ओढाएर वैधानिक तुल्याइन्थे ? अनि विश्वभर नै ठूलो जनसमूह किन कम्युनिस्ट पार्टी टाढिन बाध्य भए/पारियो ? यी प्रश्नहरूको उत्तर दि गड द्याट फेल्डले दिन्छ ।

कुनै समय ठूलो उत्साहका साथ साम्यवादी बनेर कालान्तरमा कम्युनिस्ट पार्टी छोडेका जनाको आत्मसंस्मरणको संग्रह हो यो पुस्तक । किताबमा बेलायती लेखक तथा पत्रकार आर्थर कोस्लर, कवि तथा लेखक स्टेफन स्पेन्डर, लेखक लुइ फिसर, नोबेल पुरस्कार विजेता फ्रेन्च कवि आन्द्रे जिदे, अमेरिकी राजनीतिज्ञ रिचर्ड राइट र इटालियन कम्युनिस्ट पार्टीका पुर्वनेता इन्याजियो सिलोनेका संस्मरण समेटिएका छन् ।

यी छ चर्चित व्यक्तित्वको कम्युनिष्ट गतिविधिबाट बर्हिगमनको तीतो-मीठो अनुभवको संगालो यो पुस्तकले साम्यवादी विचारधारा रक्षात्मक अवस्थामा पुग्नुको कारणहरू केलाउन मद्दत गर्छ ।

यीमध्ये कोही समाजमा विद्यमान असमानता, उत्पीडन देखेर साम्यवादतर्फ आकर्षित थिए भने कोही सोभियत संघलाई समानताको राज्यको प्रतीत मानेर त्यसतर्फ लहसिएका थिए । कोही समानता र आत्मसम्मानपूर्ण आदर्श शासन व्यवस्थाको परिकल्पनाले कम्युनिस्ट पार्टीतर्फ आकर्षित भए । यो समूहका सबैले माक्र्स, एङ्गेल्स र लेनिनका रचनाहरूको आद्योपान्त अध्ययन गरेका थिए ।

उनीहरूले साम्यवादी विचारधारा छोड्नुको मुख्य कारण छ- कम्युनिस्ट पार्टीले सत्यमाथि एकाधिकार र वैकल्पिक सत्यको अवधारणा निषेध गर्नु । पार्टीले कम्युनिस्ट विचारधारबाहेक अर्को सत्यको अस्तित्व छैन भन्ने भाष्य तयार पार्छ । कम्युनिस्ट बगैंचाभित्र फूलको विविधतालाई अस्वीकृत हुन्छ । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू नेतृत्व तहको निर्णयको बन्दी बन्छन् । फरकमतको गुन्जाइस रहँदैन ।

पार्टीका टाउकेहरूले एउटा निश्चित लाइन तय गर्छन् । त्यस विपरीत धारमा हिँड्न खोज्ने वा पार्टीले निर्माण गरेको ‘अन्तिम सत्य’लाई चुनौती दिन खोज्नेलाई क्रान्तिविरोधी, प्रतिक्रियावादी र बुर्जुवा करार गरिन्छ । सन् १९२९ मा जोसेफ स्टालिनको पार्टी सञ्चालन पद्धति (आधिकारिक लाइन ?) मा फरक मत राखेकै आधारमा लेनिनजस्तै मेधावी विचारक ट्रोटस्कीलाई मेक्सिकोमा निर्वासित गरिएको घट्ना यसको ज्वलन्त उदाहरण थियो ।

यो प्रवृत्तिले भिजनरी विचार र आलोचनात्मक चेत भएका नेताहरूलाई कम्युनिस्ट पार्टीबाट पाखा लगाउँछ । यसरी कम्युनिस्ट पार्टीमा हावी हुन पुगेका अक्षम र वैचारिक रूपमा स्खलित नेताहरूले क्रान्तिप्रति गद्दारी गर्छन् । कम्युनिस्ट विचारधाराप्रति आस्थावान तमाम व्यक्तिहरू पार्टी र साम्यवादी विचारधाराप्रति निराश बन्न पुग्छन् र पार्टीबाट अलगिन्छन् ।

१९१७ को बोल्त्साभिक क्रान्तिबाट स्थापित सोभियत संघ विश्वभरका समानताप्रेमीहरुका लागि बेजोड आकर्षणको केन्द्र थियो । संसारभरका साम्यवादीहरुले सोभियत संघलाई आस्थाको प्रतीक मान्थे । उनीहरु आफ्नो देशमा पनि त्यस्तै ‘विभेदरहित समानताको राज्य’ स्थापना गर्न मुक्ति आन्दोलन छेँड्थे ।

यी छजना पनि सोभियत संघलाई सर्वहाराद्वारा सञ्चालित पूर्ण समानता र आत्मसम्मान भएको लोककल्याणकारी राज्यव्यवस्था बुझ्थे र त्यही आकर्षणमा कम्युनिस्ट पार्टीको सदस्यता लिए । पार्टीमा आबद्ध भएर रसियालाई नजिकबाट नियाल्न थालेपछि भने उनीहरूको आस्थाका चट्टान उप्किन थाले ।

उनीहरूको कल्पनाको सोभियत संघ र रसियाको वास्तविकता धेरै फरक थियो । ‘मजदुर-किसानको राज्यमा’ सबभन्दा बढी तिनै किसान-मजदुर पिल्सिएका थिए । उनीहरू सरकारले तोकिदिएको काममा जोतिनुपर्थ्यो , छनोटको गुन्जायस थिएन । पार्टी छाडे रासन खारेज भएर भोकै मर्नपर्थ्यो ।

हरेक घरमा स्टालिनको फोटो, एकैखाले पुराना फर्निचर, भाँडाकुँडा र सरकारको निगाहबाट सामान्य खाद्यान्न हुन्थ्यो । भोकमरीले कैयौँ मान्छे मर्थे । आर्थर क्लोस्टरका अनुसार हिटलरको जर्मनीमाभन्दा स्टालिनको सोभियत संघमा मुद्रास्फिती उच्च थियो । एकबोरा पैसाले एकझोला सामान किन्न मुस्किल पर्थ्यो । स्टेफन स्पेण्डर लेख्छन्- सोभियत संघको वास्तविक अवस्था र कार्यक्षमता विपक्षीले आँकलन गरेभन्दा निकै कमजोर थियो ।

सर्वहाराको अधिनायकत्व भए पनि त्यहाँ वास्तविक सर्वहाराको बेहाल थियो । पार्टीको निर्णयमा उनीहरूको कुनै आवाज हुँदैनथ्यो । तै पनि मान्छेहरू विरोध गर्दैनथे । साम्यवादतर्फको महान यात्रामा हिँडेको सोभियत संघमा भोकमरीजस्ता साना कुराको के प्रवाह ?

सोभियत जनतालाई समकालीन विश्वबारे थाहै थिएन । उनीहरूमा अन्य देशको अवस्था सोभियत संघभन्दा निकै निकृष्ट छ भन्ने भ्रम फैलाइएको थियो । सरकारी मिडियामा स्टालिनको गुणगान मात्र आउँथ्यो । स्टालिन र पार्टीका विरोधीलाई प्रतिक्रान्तिकारी भनेर मारिन्थ्यो या निर्वासित गरिन्थ्यो ।

नोबेल पुरस्कार विजेता लेखक एन्ड्रयु जिदे लेख्छन्- तत्कालीन सोभियत संघमा हत्या गरिएजति क्रान्तिकारीहरू अन्य कुनै देशमा, कहिल्यै मारिएनन् ।

सोभियत संघमा कम्युनिस्ट पार्टी लाइनभन्दा फरक धारका कला-साहित्य प्रतिबन्धित थिए । सत्यमा सामान्यजनको पहुँच थिएन । स्टालिनकालीन सोभियत संघमा जर्ज अरवेल, एचजी बेल्सलगायत थुप्रै विश्वविख्यात लेखकहरुको कृति प्रतिबन्धित थिए । यथास्थितिको गुणगान गर्ने कला, साहित्य र संगीतलाई महान् भन्दै पुरस्कृत गरिन्थ्यो । अधिनायकवादमाथि व्यंग गरिएका कृति प्रतिबन्धित-तिरस्कृत हुन्थे ।

लुई फिसर लेख्छन्- महान र सुन्दर कला त्यो हो जसले नूतन प्रश्नहरू जन्माउँछ र अनुत्तरित विषयमा उत्तर खोज्ने चेष्टा गर्दछ ।

स्वतन्त्रता र मुक्तिको नारा बोकेको सोभियत संघ नै समयक्रममा सबभन्दा अधिनायकवादी बन्न पुग्दा समाजवादी यात्रामा हेलिएका कैंयौ युवाको आशा, भरोसा र विश्वास टुटेको थियो । त्यही समयमा जर्मन कम्युनिस्ट पार्टीले नाजीहरूसँग र स्टालिनले इटालीका तानाशाह मुसोलिनीसँग साँठगाँठ गर्दा फासिवादलाई मुख्य शत्रु मान्ने सिद्धान्तनिष्ठ कम्युनिस्टहरु साह्रै विचलित हुन पुगे ।

जिदे लेख्छन्- मान्छे ईश्वरविना ज्यादै असहाय र पराजितझैं हुन्छ । तसर्थ नास्तिकले पनि वैकल्पिक ईश्वरको परिकल्पनाद्वारा पारलौकिक ईश्वरको अवधारणालाई प्रतिस्थापन गर्छ । खासमा विश्वासको केन्द्र नै भगवान हो । मुक्तिको चाहना राख्ने हर व्यक्तिको लागि एकसमय सोभियत संघ र कम्युनिस्ट विचारधारा नै ईश्वर थियो । तर, सोभियत संघले त्यस विश्वासमा त्याग गर्न सकेन । … रसिया फेल्ड टु विकम अ गड ।

यसरी हेर्दा, पुस्तकको शीर्षक नै बेजोड, चोटिलो र चित्ताकर्षक देखिन्छ । कितावमा ईश्वरमाथिको बन्देज केलाउन खोजिएको छ । भक्तले ईश्वरमाथि आँखा चिम्लिएर विश्वास गरेजसरी नै कम्युनिस्ट पार्टीभित्र पनि प्रश्न मार्ने प्रवृत्ति जन्मिनु निराशाजनक छ । किताबका अनुसार, साम्यवादप्रति विकर्षण बढ्नु र कम्युनिस्ट पार्टी कमजोर हुनुको मुल कारण यही हो ।

यो किताब संसारभर बचेखुचेका कम्युनिस्टहरूलाई इतिहासको निर्मम समीक्षा गरेर पाठ सिक्दै अगाडि बढ्ने बाटो तय गर्नको लागि एउटा गतिलो सामग्री बन्न सक्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको कार्यशैली केलाउने ठीक बेला भएको नेपालमा दि गड द्याट फेल्ड अझ सान्दर्भिक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *