Home>>सुदूरपश्चिम>>कैलाली>>कैलालीका तटीय क्षेत्रका नागरिक त्रासमा
कैलालीसुदूरपश्चिम

कैलालीका तटीय क्षेत्रका नागरिक त्रासमा

कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन्। सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन्। चैतमै नदी कटान शुरु भएको टीकापुर–८ श्रीलङ्काका नागरिक पानी पर्दा चिन्तित हुन्छन्। “नदीले कटान तीव्र पारेको छ। नदीले धार परिवर्तन गरेर जमीनमा बगिरहेको छ”, स्थानीय झपट बुढाले भने, “पानी पर्दा बाढी आउने डरले सुत्दैनौँ।”

सोमबार रातिदेखि निरन्तर वर्षा भएपछि कर्णाली नदीमा पानीको बहावसमेत बढेको छ। कर्णाली नदीले कटान शुरु गर्न थालेपछि श्रीलङ्कावासी रातभर निदाउन सक्दैनन्। “पानी परेको बेला नदीको सतह बढ्ने र बाढी गाउँ पस्ने डरले निदाउन सक्दैनौँ”, स्थानीय शिक्षक पदम बुढा भने, “पानी धेरै परेको दिन हामी सुत्दै सक्दैनौँ, अग्लो ठाउँमा गएर रातभर बसिराख्छौँ। वर्षायाम त्रासमै बित्छ। वर्षा भइरहेको दिन ध्यान नदीतिरै हुन्छ।”

पहाडी क्षेत्रमा पानी परेपछि नदीमा पानीको सतह बढ्ने र कटान शुरु हुन्छ। यहाँ स्थानीयको सयौँ बिघा जमीन नदीमा मिसिएको छ। बर्सेनि नदी कटानले श्रीलङ्काका खड्क साउद, कालु साउद, गोपाल साउद, बलवीरे टमट्टा, डंग्ला चौधरी र दीपेन्द्र भण्डारीसहित दर्जनौँ किसानको सयौँ बिघा जमीन नदीमा मिसिएको छ। “नदीले बर्सेनि २० बिघाभन्दा बढी जमीन कटान गर्छ। साविक धनसिंहपुर गाविसको वडा नं १ पूरै कटान भएर नदी बगिरहेको छ”, कालु साउदले भने, “पछिल्ला तीन वर्षमा मात्रै हजार बिघाजति जमीन कटान भएको छ।”

नदी कटानले यहाँको खेतीका लागि उर्वरभूमि बालुवामा परिणत हुँदै गएको छ। “सबै बाली राम्रो फल्छ, बर्सेनि कटान हुँदै जान थालेपछि कतिपयले खेती लगाउनसमेत छाडेका छन्”, साउदले भने, “यहाँ पहिले ५०० घर थिए। अधिकांश विस्थापित भइसके। अब हामी करिब ८० परिवार मात्र छौँ। हाम्रो जतिबेला पनि उठिबास लाग्न सक्छ।” कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो। बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ तटबन्ध निर्माण गरेपछि कैलालीतर्फ नदीको कटान तीव्र भएको हो।

यहाँ विसं २०६० बाट नदीले कटान शुरु गरेको हो, तर पछिल्लो तीन वर्षयता कटान तीव्र छ। नदीले कटान तीव्र पारेपछि यहाँका स्थानीयवासीले स्थानीय तहदेखि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै सङ्घीय सरकारसँग पटक–पटक गुहार मागे पनि दीर्घकालीन समाधान नभएको उनीहरुको गुनासो छ। कर्णाली नदीले श्रीलङ्कामा वर्षभरि नै कटान भइरहेको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए।

“कटान नियन्त्रणका लागि प्रदेश र सङ्घमा पहल गरिरहेको छु, सुनुवाइ नहुँदा किसानले उर्वरभूमि गुमाइरहेका छन्”, ठकुल्लाले भने, “बर्दियातिरबाट भएको तटबन्धभन्दा तलबाट तीव्र कटान भइरहेको छ। नदीको कटान नियन्त्रण नभए श्रीलङ्काको बस्ती नै जोमिखमा पर्छ।” नदी कटान तीव्र भएपछि केही दिनअघि स्थानीयवासी आफैँले जैविक तटबन्ध गरे। नदी गाउँ पस्ने जोखिम बढेपछि स्थानीयस्तरमै रहेका झालापाता र काठको प्रयोग गरी तटबन्ध बनाएको स्थानीयवासी बताउँछन्।

कर्णाली नदीमा सिँचाइ आयोजनाले विगत पाँच वर्षदेखि तटबन्ध निर्माणको काम गर्दै आएको छ। यसअघि करिब ६०० मिटर तटबन्ध निर्माण भएको छ। आयोजनाले सिद्धि साइ कन्ट्रक्शनलाई एक हजार ६०० मिटर तटबन्ध निर्माणका लागि ठेक्का दिएको थियो। निर्माण कम्पनीले समयमै तटबन्ध नगर्दा बस्ती जोखिममा परेको हो।

“हरेक वर्ष निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौँ”, वडाध्यक्ष ठकुल्लाले भने, “ठेकेदारको लापरवाहीले समयमै तटबन्ध निर्माण भएन, तटबन्ध नबन्दा बस्ती सखाप हुने चिन्ता बढेको छ।” वडाध्यक्ष ठकुल्लाले बस्ती कटानबाट कसरी जोगाउन सकिएला भनी सिँचाइ आयोजना र नगरपालिकाबीच छलफल भएको बताए। 

सीमास्तम्भ नदीमा मिसिँदै 
कर्णाली नदीले तीव्र कटान गर्न थालेपछि नेपाल–भारतका सीमास्तम्भ बर्सेनि नदीमा मिसिन थालेका छन्। यस वर्ष कर्णाली नदीले दुई देशको दशजगा क्षेत्रमै वैशाख पहिलो सातादेखि नै कटान शुरु गरेको थियो। नदी कटानले यस वर्ष श्रीलङ्कामा रहेको ७०१÷१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ। कर्णाली मात्र नभई सीमाक्षेत्र भएर बग्ने मोहना नदीले समेत दुई देशका सीमास्तम्भ बगाउँदै आएको छ।

कर्णाली र मोहना नदीले टीकापुर नगरपालिकाअन्तर्गत पर्ने सहायक पिलरहरु ७०२, ७०३ र ७०४ बगाएको छ। टीकापुर नगरपालिकाभित्रका चार मुख्य र १० सहायक सीमास्तम्भ नदीमा हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले जानकारी दिए। “यस वर्ष सीमास्तम्भ मर्मतको काम भयो, नेपाल र भारत मिलेर सीमा रहेका स्तम्भ स्तरोन्नति गर्ने कार्य भयो”, भट्टले भने, “तर नदीमा बगेका सीमास्तम्भबारे केही गरिएन।

सीमास्तम्भ नदीमा हराउँदा नेपाल– भारतको सीमामा समेत असर गर्छ।” लगातारको कटानले कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा रहेको सत्ती पुलसमेत कटानको जोखिममा छ। सुदूरपश्चिम प्रदेशको टीकापुर र प्रदेश नं ५ राजापुरलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल कटानको जोखिममा परेको हो। तीन वर्षदेखि नदी कटानले गर्दा पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परेको छ। पुलको अन्तिम पिलरसँगै बनाइएको ताराजालीसहित तटबन्ध बर्सेनि भासिँदै आएको छ।

टीकापुर नगरपालिका–८ वनगाउँका स्थानीय गम्भीर साउद श्रीलङ्कातर्फ नदीको कटान हुँदा पुलसमेत जोखिममा परेको बताउछन्। “कटानले नदी गहिरो हुँदा पुल छेउको जाली भासिएको हो। हरेक वर्ष मर्मत हुन्छ, फेरि भासिन्छ, पुल नै जोखिममा परेको छ”, उहाँ भन्नुहुन्छ। प्वाल परेको ठाउँमा तारजाली राखेर सवारी साधन आवतजावत गर्ने व्यवस्था गरिएको छ। पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवातजावतमा समेत समस्या हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *